मेरा कविताहरु

तरंग अनेक सम्झना एक

 

त्यो समुन्द्र थियो
त्यो बिशाल थियो
त्यो अनन्त थियो
आँखा भन्दा धेरै परपर…
कुनै सीमान्त नै नभए जस्तो
कुनै बिसौनी नै नभए जस्तो
खालि देखिने आँखामा नीलो मात्र
फगत कल्पनाका सीमारेखामा प्रतिबन्धित !
त्यो मेरो
प्रथम जम्काभेट थियो
मैले खालि हेरिरहें त्यसलाई
त्यो समुन्द्र थियो |

 

किरमिर-किरमीर तरंगका अनन्त संक्रमणहरु
मानौ म थिएं प्रत्येक दोसांधामा   उभिएको
टक्क रोकिएको , फर्किएको पछिल्तिर
वा छचल्किएको !
केबल हेरिरहें
नगरेर कसैसँग केही प्रश्न
शायद मैले बुझेको छु
वा बुझेर पनि नबुझेको छु
अर्थात
जसलाई सोधेपनि बुझ्नै नसक्ने भएको छू
म बिल्कुल लाटो भएको छु |

 

घरी छालहरुमा हुत्तिएर माइलौ पर पुगेको हुन्छु
मानौं पुग्नुको कुनै उद्देश्य नै छैन
त्यत्तिकै हुत्तिएको मात्र !
घरी भासिएको हुन्छु पिंधतिर
निरन्तर छटपटी भैरहन्छ
मानौ भासिनुको कुनै मर्म छैन
त्यत्तिकै भासिएको मात्र !

 

असीम तरंग !
असीम छाल !
असीम गहिराई !
अनन्तताको एउटा टुक्रा !
खालि हेरिरहेको मैले…
एउटा अस्पस्ट बिम्ब !
शायद त्यो प्रशान्त  थियो !
वा कोही थियो त्यो
त्यसलाई हेरिरहंदा
मेरो मन अशान्त थियो |

 

नोवेम्बर 15 ,                  
california long beach visit 2007,nov 9

………………………………………………………………………..

जीवन एक प्रबाहमा..

 

लेखिसकेको मात्र होइन
लेख्नै नभ्याएको
वा लेखिसकेर त्यत्तिकै थान्किएको
अर्थात प्रूफ रिडिंगको प्रतिक्षामा कुरेको
वा भनौ,
अनन्त आगतले किचिएर
उठनै नसक्ने भएको
कुनै समयको अर्थात कालखन्डको
एउटा सानो जीवन
वा भनौ जीवनको एक अंश
उत्खनन होला यो
अर्थात पुनर्लेखन नै सही
म फेरि पनि लेख्दै छु
घिसारेर जीवनलाई कठालामा समातेर
या कुनै छेऊमा
आफूलाई सजिलो हुनेगरी
ख्यालै नगरी बटनको या टांकको
पछिल्तिरबाट सर्टको ढाडमा

 

त्यत्तिकै बांचिदिएको
हाँस्छन् कि अरु भनेर हाँसिदिएको
बोल्ने पनि थिइन
सब बैह्रा छन थाहा थियो
बोल्नै पो बिर्षने हूँ कि !
र बोलिदिएको |
यो बिर्सिसकेको
तर सम्झन नछोडेको
एउटा कथा जीवनको
अर्थात कविता भयो यो
आज लेखिदिएको ||

……………………………………………………………..

पात्र जस्तै..

 

मार्थाहरू प्रेमको पक्षमा जिद्दी गरिरहुन्
प्रशान्तहरू अड्डी कसिरहुन्  अहम्मा
अस्तित्वको नाममा ओइलिएर झरिरहुन् सकम्बरीहरू
आकर्षणको बाटो बिराएर
पश्च्तापमा जलिरहुन्  सुयोगबीरहरु……
र सारा बैंस रातमा गुमाओस् पारीजातले  
आंखिर संसार भ्रमको खेल मैदान नै त हो
आंखिर संसार भ्रमको रंगमंच  नै त हो  | 

 

हामी टुसाएर आतंक हुन्छौं परम्परामा
परम्परा बिलाएर आतंक हुन्छ हामीमा
एउटा निरन्तर युद्ध जारी छ सदियौंदेखि
न जितेका छौं हामीले
र न जित्न पाएको छ परम्पराले
हाम्रो संधै गुनासो परम्परासंग
र परम्पराको संधै गुनासो हामीसंग
एउटा बित्थाको कोकोहोलो निरन्तर बगिरहेको छ
र हामी भ्रमका किनारहरु आधार मानेर
प्रबाहामा सामेल छौं |

 

सबैले बुझेको
तर आफैले बुझ्न नसकेको
सबैले जीत ठानेको
तर आफूले निरन्तर हारेको 
कतै मार्था ! कतै प्रशान्त !
कतै सकम्बरी ! कतै सुयोगबीर !
कतै पारिजात ! 
कुनै कीर्तिका खातिर पात्र भईदिनु
र सम्बेग जन्माई दिनु हरेक पाठकमा
वा नाचिदिनु कतै थिएटरमा
अर्थात रोई दिनु  छिनभर बेस्सरी
हांसी दिनु , जोक्कर भैदिनु
रिसाई दिनु , कसैसंग नाबोलिदिनु
पछुताउनु , आफैसंग झर्किदिनु
यसो भैदिनु , उसो भैदिनु
र कसै गरे पनि कता कता नामिलिदिनु
अर्थात नमिले झै लागिदिनु 
फेरी कहिले टक्क मिले झै होइदिनु       
र मन फुरुंग भईदिनु |

 

एउटा भ्रमको खेल मैदान नै त हो जिन्दगी  
एउटा भ्रमको रंगमंच नै त हो जिन्दगी ||

…………………………………………………………………………

परिचय

 

मलाई अत्यन्तै माया गर्ने मेरी प्रेमिका
एक दिन मेरो बैंक ब्यालेंस घटेको चाल पाएपछि
अनायस मेरो सामु उपस्थित हुन्छे
र भन्छे -
” मिस्टर ! मैले तपाईंलाई चिने | “

 

मलाई अत्यन्तै श्रद्धा गर्ने मेरो छोरो
बिहे गरेको बर्ष दिन नबित्त्तै
एका एक मेरो सामु उपस्थित हुन्छ
र भन्छ -
” बा ! मैले  तपाईंलाई चिने | ”

 

मलाई अत्यन्तै आदर गर्ने मेरो छात्र
जसको चिट हिजो मात्र मैले परीक्षामा खोसेको थिएँ
झोक्किएर मेरो सामु उपस्थित हुन्छ
र भन्छ -
” सर ! मैले तपाईंलाई चिने  “ 

 

एक दिन 
उनीहरू सबैले यसो भानिरहंदा …
मलाई पनि के लागेर आयो भने -
मैले भर्खरमात्र मेरी प्रेमिकालाई चिनेको छु
मैले भर्खर मात्र मेरो छोरालाई चिनेको छु
मैले भर्खर मात्र मेरो छात्रलाई चिनेको छु
अर्थात यसो भनौ - 
मैले पनि उनीहरुलाई चिन्ने मौका पाएको छु ||   
 

………………………………………………………………………

हद

 

प्राय :
आँसुका थोपा शिरानी लाएर
मस्त निदाएको छु जिन्दगी
र ब्युंझने बित्तिकै
हाँसेको छु
दाँतभरी दन्तमन्जनको चमत्कार |

 

बोलिदिएको छु हरेकसँग इमानदार भएर
हर्दम डराएर
वा भनौ सुरक्षित हुन खोजेर
जिंदगीको दाँया बाँया नियालेर हिंड्ने गरेको छु
ह्वाईट लाइन र याल्लो लाइनका सीमाहरु
साइन बोर्डलाई ख्याल गरेर
पैतलामा गति मिलाएको छु
इन्टरसेक्शनका हरेक इशारामा
साबधान हुन खोजेको छु हरेक पल्ट
नबुझे पनि सबैकुरा
एउटा असल श्रोता भैदिएको छु धेरैको |

 

तै पनि कहिले कहिं
नमीठो ऐठन परेको छ
चिसोले कक्रिएर ओठहरुमा
हाँसो फिक्का देखिने गरेको छ
सुन्नेहरु असल नभईदिंदा
वा सब्दहरू बदमास भै दिंदा 
आफै पनि बदमास भइएको छ कति पल्ट !
र हिंड्दा हिंड्दै बिना संकेत
गति रोकिएको छ कति पल्ट !  

 

धेरै होसी हुनु भनेको बेहोसी हुनु पो हो कि !
बाटो बाटो भनिरहनु लाटो हुनु पो हो कि !
धेरै असल बन्न खोज्नु कमसल हुनु पो हो कि !

………………………………………………………………………. 

तिम्रो अन्तर्ध्वनि

 

प्रिय,
निरन्तर एउटा छद्मभेष धारण गरेर
हर समय तिम्रो उपस्थित
एउटा कन्फ्युजन साट्न खोज्छ मसँग
एउटा गड़बडी गर्न खोज्छ मसँग
मेरो इमानदार ब्यबहार हर समयको
बेहिसाब गर्न खोज्छ मसँग |   

 

मलाई थाहा छ
तिम्रो उद्देश्य जे भए पनि
तिम्रो प्रस्तुती सारै सरल र इमानदार छ
र मलाई यो पनि थाहा छ
कि तिमीलाई अभिनय मन पर्छ |
 

जस्तो कि -    
तिमी भन्नत हाँसेर भन्छौ
सारै नम्र र मिजास भएर भन्छौ
सबभन्दा आफ्नो र अत्यावश्यक भएर भन्छौ
तिम्रा प्रसंसाका शब्दहरु नालायक पनि छैनन्
तर तिम्रो अन्तर्ध्वनि
बित्थाको बाँसुरी हो मेरो लागि
अरु केही नसुनेर सुनिरहनु पर्ने तिम्रो बाँसुरी
वा लट्ठ भैरहनु पर्ने तिम्रो धूनमा
मैले बैह्रो भएर सुनिदिनु पर्ने तिमीलाई
मैले अन्धो भएर हेरिदिनु पर्ने तिमीलाई
तिमीलाई खुसी पार्न
हमेसा हंसाई रहन तिमीलाई
मैले नाची दिनुपर्ने तिम्रो बांसुरीको धूनमा !

 

यसरी मैले तिमीलाई सुनिरहनुको के अर्थ छ ?
यसरी मैले तिमीलाई भेटिरहनुको के मूल्य छ ?
प्रिय ,
बिर्सिएर आफ्नो जिन्दगीको गति
ताल बेताल
मैले केबल नाचिरहनु छैन कुनै जोकर जस्तो
तिम्रो मतलबी धूनमा ||
 

……………………………………………………………………….

बाँच्नको लागि 

 

सनुमाया !
तिमी आफ्नो मुर्खतालाई महानता ठान
या मेरो स्वाभिमानलाई अभिमान ठान
तिमी कांडालाई फूल ठान  
अर्थात तिमी फूललाई कांडा ठान
तिमी जतिसुकै अग्लो भएर हिंड ,   
या म जतिसुकै पुड्के भैरहूँ
आँखिर तिमीले र मैले हिड़ने
जिन्दगीको मूल सडक उही हो
गल्ली,पेटी र कुइनेटो उही हो
बाटो बिराएर टक्क उभिने
दोबाटो या चौबाटो उही हो
थाकेर जिंदगीको घुम्तिमा
एउटा सानो टुक्रे चिया पसलमा
तिमीले र मैले खरिद गर्ने
फिक्का चिया काँचको गिलासमा
उही हो !

 

फगत बहाना फरक छ जिन्दगीको
अपबाद के नै पो छ र ?
तिम्रो र मेरो सागर उही हो
बगर उही हो |  

 

सस्तो माइलिज नापेर
दगुरेको छ पैतला चच्क्रहरुमा
थोपा थोपा आँसु जमेर
बसेको छ यो आँखाको नानीमा |

 

उफ् !
मायाको एक अन्जुली सातू लिएर
तिमी जीवनको लेकाली गोरेटोमा
निसाहासँग के युद्द जितौली र !

 

बरु
सानुमाया !
तिम्रो मानेमा
यो मेरो मरुभूमिको ड्यास
अर्थात् मेरो मानेमा
यो बिसाल समुन्द्र
या प्रेमको असीम अकास
एउटा रंगमंच  भैदिन सक्छ
बाँच्नको लागि |          

…………………………………………………………….. 

शब्द र अर्थ 

जब शब्दहरूले
ध्वनि हुन मात्र जान्दछन् 
र तीं असक्त बनिदिन्छन् अर्थका खातिर
र जब अर्थ
फगत दृश्यमा छरिन्छ
चित्रमा टागिन्छ 
र त्यो ब्यक्त हुन सक्तैन शब्द भएर
त्यो त्यस्तै हुन्छ 
फगत त्यस्तै  हुन्छ
जस्तो कि -
तिमी छौ
र  म छु | 

…………………………………………………………………. 

खबर


भर्खर धितोमा राखेर धनिपुर्जा
ऋण मुक्त भएको छु
पार पाचुके गरेर फर्किएको छु अदालतबाट  
र स्वतन्त्र भएको छु |

प्यारो साथी
मेरो यो खुसीको मौका छोपेर
तिमीले आँसुको खेती नथाल्नु
उत्सब हो यो मेरो जिन्दगीको
तिमीले आगोमा घिऊ नहाल्नु |

 

                    

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.